आज असार १५ नेता तथा मन्त्रीहरुले धान रोपाइ गरेर जनताको सहानुभुती बटुल्न खोजिरहेको हुन्छन्। कसैले खेतमा जुत्ता लगाएर खेत रोपिरहेको हुन्छन् भने कसैले त क्यामेराको अगाडी धानको विउ समाएर रोपेजस्तो गर्छन् ।

कुनै कुनै नेताले त खेतमा जानको अल्छिले गमलामा नै धान रोपेर असार १५ मनाएको पनि देख्न सकिन्छ । यो कविता यस्तै चर्तिकला देखाउने नेता तथा मन्त्रीहरुको लागि हो ।

हाम्रो नेपालमा त गमलामा धान फल्छ
खेतमा महल बन्छ
ए रोपारेहरु आउ सघाउ मलाई
ए बाउसेहरु जतन गरेर गमला सम्याउ
अनि हलिहरु छेउ कुनो राम्रोसँग जोत
हाम्रो नेपालमा त गमलामा धान फल्छ
खेतमा महल बन्छ

लेखक : रोशन राज भट्टराई

यो गोलो गमला भकारीको प्रतिक बन्छ बन्छ
म कृषी मन्त्री हुदा सारा किसानका दुख घटाउने संकल्प गरेको छु
म पदमा रहदा सारा किसान हटाउने संकल्प गरेको छु
त्यसैले त गमलामा धान सारेको छु
गोरुले खान्छकी भनेर काँडाले बारेको छु

कति धुले मैले हुने हामी अब सुकिलो बन्नुपर्छ
आउ किसानका छोराछोरी हो खाडिमा सिउँडी गोड्न जानुपर्छ
मरुभुमीको तातो हावामा उभिएकै लाखौ आउँछ
तिम्ले आफ्नो माटोमा हड्डी खियाएर भन के पाउँछौ
तिमी पनि जाउ विदेश परिवार नि उतै
तिम्रो दर सन्तानका लागि राख्छौ देश दुरुस्तै
विकाश हुनै दिन्नौ हामी तिमी ढुक्कै बस
मिल्छ भने परिवार लिइ विदेशतिरै पस

हेरन हाम्रो त देशै पनि कस्तो
परिबेश कति सस्तो
कतै डाडा कतै काडा
खोला खोल्साले सताउने
थकाइले अत्ताउने

यस्ता खोलाको पानीले के रोपाई गर्नु
हेरत गन्हाउने हिलो
खेताला ढिलो
अस्जिलो मेलो
त्यसैले त म तिम्रो पसिनाले रोपाइ गर्दै छु
सजिलो मेलो
गलेको हिलो
चटक्क परेको धानको बाला
मानो रोपेर मुरी होइन मुरी रोपेर मानो खाउँला
तेसै पनि हाम्रो पेट डाम्रै छ
संसारले डाम्रो पेटलाइ नै राम्रो मानेको छ

त्यसैले त हाम्रो नेपालमा
गमलामा धान फल्छ
खेतमा महल बन्छ
तिम्रो रेमिट्यान्सले देश चल्छ