म आमा आमा भन्दै चिच्याइ रहे जगाउनु भनेर
अरे तिमी आयौ लास हो यो अग्नि लगाउनु भनेर
यहि फरक छ तिम्रो प्यार अनि आमाको मायामा
सजाय दिन्छौ तिमी, भन्नुहुन्थ्यो आमा सच्याउनु भनेर

थाहा छ कसौडी खाली छ, आमाको पेट खाली छ
म टन्न छु भन्नुहुन्थ्यो आमा, बाबु तिमी अघाउनु भनेर

किन मलिन चेहेरामा आशु बग्दैन भन्छौ तिमी ?
मलाई आमाको बचन छ, पसिना बगाउनु भनेर

पिडा दियौ, पीर दियौ भन्दै हिड्छ्यौ आजभोली
भनेकै हो तिमीलाई, घाइते मुटु नघच्घच्याउनु भनेर

म आमा आमा भन्दै चिच्याइ रहे जगाउनु भनेर
अरे तिमी आयौ लास हो यो अग्नि लगाउनु भनेर
यहि फरक छ तिम्रो प्यार अनि आमाको मायामा
सजाय दिन्छौ तिमी, भन्नुहुन्थ्यो आमा सच्याउनु भनेर

सि पी आचार्य ‘अनुरागी’
चामुन्डा – १
दैलेख (हाल दक्षिण कोरिया)