दक्षिण कोरिया (सउल) – दक्षिण कोरियामा छुसकको रौनक सुरु भएको छ । प्राचीन हान्गावी नामले परिचित छुसक कोरियनहरुको ठुलो पर्व हो । बर्षे तथा मुख्य खाद्यान्न बाली भित्र्याए लगत्तै मनाइने छुसक नेपालका हिन्दु धर्मावलम्बीहरुले मनाउने वडादशै जस्तै कोरियनहरुको महान पर्व हो ।

लुनार क्यालेन्डर अनुसार वर्षको आठौ महिनाको पन्ध्रौ दिनमा मनाइने यो पर्वमा कोरियनहरु आफ्नो पुख्र्यौली घरमा जाने तथा पारिवारिक जमघट गरेर पराम्परागत परिकार खाएर खुसियाली मनाउने गर्छन् । यस पर्वका अवसरमा कोरियनहरुले आफ्ना पुर्खाको समाधिस्थलमा फूल तथा पर्वका लागि तयार पारिएका परिकार चढाएर उनीहरुलाई धन्यावाद ज्ञापन गर्ने गर्छन् ।

पर्वको मुख्य आकर्षण भनेको उपहार साटासाट गर्नुपनि हो । छुसकमा आफ्ना मान्यजनलाई उपहार दिने तथा मान्यजनहरुबाट उपहार लिने चलन छ ।

घर बाहिर रहेकाहरु छुसकमा घर फर्कने तथा आफन्तजनसँग भेटघाट गर्ने चलन पनि रहिआएको छ । पर्वमा पराम्परागत खानाको विशेष महत्व रहेको छ ।

यस पर्वमा कोरियनहरुले सोङफ्यान बनाएर खाने गर्छन् । कालो सिमी, ओखर, कटुस, मह लगायतका सामाग्री मिसाएर पकाउने सोङफ्यान पर्वको मुख्य परिकार मध्येको हो ।

त्यसैगरी प्राकृतिक रंग र ढाँचाबाट बनाइने हाङ्वा पनि छुसकमा बनाइने परिकार हो । चामलको पिठो, मह, फलफुल र गेडागुडी उमारेर बनाइने हाङ्वा छुसक बाहेक अन्य उत्सवहरुमा पनि खाने गरिन्छ । साथै छाप्जेफाब लगायत कोरियन प्राचिन रक्सी खाएर पर्व मनाउने चलन रहेको छ ।

यो वर्षको छुसकमा कोरियन सरकारले छ दिन लामो सार्वजनिक बिदा दिएको छ । कोरियामा कार्यरत नेपाली लगायतका कामदारहरुले बिदाका अवसरमा विभिन्न कार्यक्रमहरु गर्ने तथा साथिभाई भेटघाट गरेर पर्व मनाउने गरेका छन् । पर्वको अवसर पारेर नेपालबाट कलाकारहरु बोलाउने तथा विभिन्न सांगितीक कार्यक्रमहरु पनि गर्ने गरेको पाइन्छ ।

छुसकको समयमा दोङदेमून स्थित नेपाली चोकमा नेपालीहरुको बाक्लो जमघट हुने गर्छ ।

रोशन राज भट्टराई