सोल (दक्षिण कोरिया) – दक्षिण कोरियामा कृषि क्षेत्रमा काम गर्न आएका २८ वर्षीय तुलसी पुन मगर मृत भेटिएका छन् । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–१ घर भई हाल कोरियाको छल्लनाम्दो स्थित कृषि र्फममा कार्यरत २८ वर्षीय तुलसी पुन मगर गत शुक्रबार झुन्डिएको अबस्थामा फेला परेका थिए ।

सामाजिक सञ्जालमा निक्कै भाइरल भइरहेको मगर मृत्यु प्रकरण शंकाको घेरामा तानिएको छ। सोही कम्पनीमा कार्यरत सुजन शाह भनिने नेपालीका कारण उनी मर्न बाध्य पारेको आरोप उक्त कम्पनीमा कार्यरत अन्य कामदारहरुले लगाएका छन् ।सोही कम्पनीका नेपाली सुपरभाइजर शाह तथा र्फम सञ्चालकले काममा खटिँदा गालीगलौज गर्ने, काम नभएको अवस्थामा तनाव दिने, मानसिक तथा शारिरीक यातना दिने गरेको कम्पनिमा कार्यरत नेपाली कामदारहरुले बताएका छन् ।

मगरलाई आत्महत्या दुरुत्साहन गर्ने दोषीलाई कारबाहीको माग गर्दै कोरियामा रहेका अधिकारकर्मीहरुले सोमबार दबाब दिएका छन् । नेपाली दूतावासका श्रम काउन्सिलर मैँया कडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष बुद्दि गुरुङ ,विपिन गुरुङ, प्रवासी ट्रेड युनियनका अध्यक्ष उदय राई, कोरियाली मानव अधिकारी संस्था लगायतका प्रतिनिधिहरु घटनास्थलमा पुगेका हुन् ।

मृतक मगर गत असोजमा इपिएस कामदारको रुपमा कोरिया पुगेका थिए । मृतकको शव स्थानीय अस्पतालमा राखिएको छ ।