काठमाडौं – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पनि सरकारबाट बाहिरिएको छ । सरकारमा रहेका जसपाका मन्त्रीहरूले हिजो प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन् । सरकारमा जसपाका दुई जना मन्त्री र एक जना राज्यमन्त्री थिए ।
सरकारको मुख्य साझेदार एमाले बुधवार नै सरकारबाट बाहिरिसकेको छ । संसदमा सात सिट भएको अशोक राई नेतृत्वको जसपाले पनि समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीको पक्षमा अब माओवादी, रास्वपा र एकीकृत समाजवादी मात्रै बाँकी छन् । माओवादीका ३२, रास्वपाका २१ र एकीकृत समाजवादीका १० गरी प्रधानमन्त्रीको पक्षमा गरी ६३ सांसद छन् ।
यसअघि सरकारलाई समर्थन गरेका जनमत र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छैनन् । कांग्रेस र एमालेबीच गठबन्धन भइसकेपछि अल्पमतमा पर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो २८ गते पाँचौं पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिने हुनुभएको छ ।
पछिल्लो पटक प्रधानमन्त्री बनेयता उहाँले प्रतिनिधिसभाबाट २०७९ पुस २६, दोस्रो पटक २०७९ चैत ६, तेस्रो पटक २०८० फागुनमा र चौथो पटक गएको जेठ ७ गते विश्वासको मत लिनुभएको थियो ।