काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढी नेपालका लागि मात्रै नभएर विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिमतर्फ विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले भोटेकोशी बाढीले ठूलो जनधन, पूर्वाधार, जलविद्युत् तथा जनजीवनमा क्षति पुऱ्याएको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपद्को जोखिम अझ बढिरहेको बताउनुभयो । प्रधानमन्त्री शाहले भोटेकोशी विपद् नेपालले निम्त्याएको नभएको स्पष्ट गर्दै जलवायु परिवर्तनको असर न्यून योगदान गर्ने देशहरूले समेत असमान रूपमा भोग्नु परिरहेको धारणा राख्नुभयो ।

उहाँले हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम र त्यसबाट सिर्जना हुने जोखिमप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर हुनुपर्ने बताउनुभयो । नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि यसको असर भने गम्भीर रूपमा भोगिरहेको प्रधानमन्त्री शाहको भनाइ छ ।

जलवायु न्याय, सहज र पहुँचयोग्य जलवायु वित्त, प्रविधि हस्तान्तरण तथा विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगमा प्रधानमन्त्रीले जोड दिनुभयो । जलवायुजन्य विपद्को क्षति न्यूनीकरण गर्न पूर्वतयारी, सूचना प्रणाली र जोखिम व्यवस्थापनमा लगानी बढाउनुपर्नेमा प्रधानमन्त्रीले विश्वको ध्यानाकर्षण गराउनुभयो ।
प्रधानमन्त्री शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा रहेको असमानतामाथि प्रश्न उठाउँदै हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा भने कमजोर रहेको पनि बताउनुभयो । अन्तरमहादेशीय क्षेप्यास्त्र र राइफल तथा गोलाबारुद तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर नेपालका किसानले आवश्यक परेको बेला बजार मूल्यमा मल वा इन्धनसमेत पाउन नसक्ने अवस्था रहेको उहाँको भनाइ थियो ।

सम्बोधनमा प्रधानमन्त्री शाहले नेपालको पछिल्लो राजनीतिक परिवर्तन र लोकतान्त्रिक प्रक्रियाको विषय पनि उठाउनुभयो । उहाँले गएको फागुन २१ गते भएको प्रतिनिधिसभा चुनाव नेपालको इतिहासकै शान्तिपूर्ण र निष्पक्ष चुनाव भएको दाबी गर्नुभयो । चुनावपछि बनेको सरकारले सुशासन, सुधार र जनमुखी शासनलाई प्राथमिकतामा राखेको पनि उहाँले बताउनुभयो ।

सम्बोधनमा प्रधानमन्त्रीले विश्व शान्ति र कल्याणको कामना पनि गर्नुभएको छ । सम्बोधनको अन्त्यमा उहाँले भन्नुभयो, ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन् । यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् ।’