काठमाडौं – यस वर्षको दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गाडीको अग्रिम टिकट आउँदो शुक्रवार असोज २३ गतेदेखि खुला गर्ने निर्णय भएको छ ।
यातायात व्यवस्था विभागमा आज सरोकारवालाबीच भएको बैठकले अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले उज्यालोलाई जानकारी दिनुभयो ।
यस वर्षको दशैँमा झन्डै १० लाख जनाले काठमाण्डौ उपत्यका छाड्ने अनुमान छ । यस वर्षको दशैँको घटस्थापना असोज २५ गते र दशैँको मुख्य दिन विजयादशमी कात्तिक ४ गते परेको छ ।
बैठकले यात्रुको सुरक्षा, सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन विभिन्न निर्णय पनि गरेको महासङ्घका अध्यक्ष सिटौलाले बताउनुभयो ।
अब लामो दूरीका गाडीमा दुई जना चालक अनिवार्य राख्नुपर्नेछ । सुरक्षित यात्रा र राजमार्गमा हुने अवरोध वा दुर्घटनाको तत्काल जानकारी आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याउने निर्णय पनि भएको छ ।









