काठमाडौं – धादिङको गजुरी नजिकै गलौंदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग हिजो बेलुकीदेखि अवरुद्ध भएको छ । सडक भासिएको ठाउँमा भित्ता काटेर आजदेखि सडक खुलाउने प्रयास भैरहेको धादिङ प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि दशैँमा घर हिँडेका यात्रुहरु अलपत्र परेका छन् । दशैँको टिकट बुकिङ खुलेकै दिन काठमाण्डौ ओहोरदोहोर गर्ने मुख्य सडक अवरुद्ध भएको हो ।

पृथ्वी राजमार्ग भएर दैनिक १५ हजारभन्दा धेरै गाडी ओहोरदोहोर गर्छन् । दशैँका बेला भने योभन्दा पनि तेब्बर संख्यामा गाडी ओहोरदोहोर गर्ने गरेको प्रहरीको भनाइ छ ।

यसअघि भदौ १४ मा भोटेकोशीको बाढीपछि त्रिशूली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णभीरखण्ड भासिएको थियो । भासिएको सडक १८ दिनपछि सञ्चालनमा आएको थियो ।

यसअघि असोज पहिलो हप्ताको बाढीपहिरोको कारण पनि झण्डै पाँच दिन सडक अवरुद्ध भएको थियो ।