काठमाडौं – दशैँको लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ यसै हप्ता खुलाउनेगरी तयारी शुरु भएको छ ।
यसबारे आज यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवालबीच छलफल हुँदैछ । छलफलपछि अग्रिम टिकट बुकिङ खुला गर्ने मिति र प्रक्रियाबारे निर्णय हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो ।
सडकको अवस्था मूल्याङ्कन गरेर मात्रै अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी भएको छ । विशेषगरी पहाडी तथा दुर्गम क्षेत्रका सडकको अवस्थालाई ध्यानमा राखेर यातायात सञ्चालन र टिकट बुकिङको व्यवस्था मिलाइने भएको छ ।
यातायात व्यवसायीका अनुसार पोखरा, चितवन र भैरहवा जस्ता तुलनात्मक रूपमा सहज र सुरक्षित सडक भएका गन्तव्यका लागि केही यातायात कम्पनी तथा अनलाइन प्लेटफर्मले टिकट बिक्री शुरु गरिसकेका छन् । तर, सडकको अवस्था जोखिमपूर्ण रहेका दुर्गम तथा पहाडी गन्तव्यका लागि भने औपचारिक निर्णयपछि मात्रै अग्रिम टिकट बुकिङ खुला गरिनेछ ।
दशैँमा ठूलो सङ्ख्यामा यात्रु काठमाडौंबाट बाहिरिने भएकाले यात्रुको सहज यात्रा, गाडीको व्यवस्थापन, सडकको अवस्था तथा सम्भावित जोखिमलाई ध्यानमा राखेर अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन लागिएको हो ।
दशैँको लागि यात्रुको चाप बढ्न थालेपछि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याउन थालिएको छ । हिजोसम्म आठ ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
बल्खु चोक, फर्पिङ चोक, हलचोक, नयाँ बसपार्क, चाबहिल र कोटेश्वरलगायतका ठाउँमा सहायता कक्ष सञ्चालन गरिएको छ । यात्रुको चाप र आवश्यकताअनुसार थप सहायता कक्ष विस्तार गर्ने तयारी छ । कुल १५ ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने योजना छ ।









