काठमाडौं – पोखरामा बिहान स्कुल बस दुर्घटना हुँदा चार जना विद्यार्थीसहित पाँच जनाको ज्यान गएको छ । १४ जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका–२८ कालीकानमा रहेको ओख्लेको भिरमा कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस सडकबाट झण्डै २ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बसमा रहेका १९ जनाकै उद्धार गरी अस्पताल पठाएकोमा उपचारका क्रममा चार जना बालबालिका र एक जना ६५ वर्षीय वृद्धको ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा ममता तिवारी, अशिम कँडेल, नामथर नखुलेका दुई बालिका र पोखरा महानगरपालिका–२८ का ६५ वर्षीय बाबुराम तिवारी रहेका छन् । घाइतेमध्ये तीन जनाको गण्डकी मेडिकल कलेजमा र ११ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ भने धेरैको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ । चालक ५७ वर्षीय तुलबहादुर गुरुङ पनि घाइते हुनुभएको छ ।

यस्तै उद्धारका क्रममा प्रहरी जवान अर्जुन शाहीसमेत सामान्य घाइते भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।