काठमाडौं – अरुणाचल प्रदेशको तवांग क्षेत्रमा भारत र चीनका सैनिकबीच झडप भएको भारतीय सेनाका प्रवक्ताले बताएका छन्। उक्त घटना ९ डिसेम्बरमा भएको बताइएको छ।

भारतीय सेनाले बताए अनुसार त्यस दिन पीएलएका सेना अरुणाचल प्रदेशको तवांग सेक्टरमा प्रवेश गरेपछि भारतले जबाफी कारबाही गरेको थियो।

उक्त झडपमा दुवै पक्षका केही सैनिक घाइते भएका छन्। भारतीय सेनाका अनुसार दुवै देशका सेना तत्काल घटनास्थलबाट पछि हटेका थिए। झडपपछि शान्ति कायम गर्न इलाका कमाण्डरले चिनियाँ समकक्षीसँग वार्ता गरेका थिए।

भारतको एक प्रमुख अङ्ग्रेजी पत्रिका द हिन्दूले भारतीय रक्षा अधिकारीलाई उद्धृत गर्दै तवांगमा भएको झडपमा भारतीय सैनिकभन्दा धेरै चिनियाँ सैनिक घाइते भएको जनाएको छ।

लद्दाखको गलवान उपत्यकामा सन् २०२० को जुन महिनाको १५ तारिखमा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक झडपपछिको यस प्रकारको यो पहिलो घटना हो। त्यसबेला २० भारतीय सैनिक मारिनुका साथै कैयौँ घाइते भएका थिए। स्रोत : बीबीसी