काठमाडौं – भारतको आन्ध्र प्रदेशमा डाक्टरले एक महिलाको पेटबाट १३ वटा कलम, ५ वटा चम्चा र एउटा मैनबत्ती निकालेका छन् । तीमध्ये एउटा कमल २५ सेन्टिमिटर लामो थियो ।

आन्ध्र प्रदेशको पाल्नाडु जिल्लाकी ३३ वर्षीया महिलाको पेटबाट अप्रेशन गरेर ती वस्तु निकालिएको बीबीसी हिन्दीले जनाएको छ ।

ती महिलाले छातीको बायाँ भागमा तीव्र पीडा महसुस गरेपछि परिवारले उनलाई माताश्री प्राइभेट हस्पिटलमा भर्ना गरेका थिए ।

शुरूमा चिकित्सकले ईसीजी र इन्डोस्कोपी गरेका थिए । ईसीजी रिपोर्ट ठीक थियो तर इन्डोस्कोपी रिपोर्टमा पेटमा लामा वस्तु रहेको पत्ता लागेको उपचार संलग्न डाक्टर रामचन्द्र रेड्डीले बताउनुभयो । डाक्टरले सफलतापूर्वक यी सबै वस्तुहरू निकाले र ती महिलाको ज्यान बचाए । अहिले महिलाको अवस्था स्थिर रहेको छ ।

डाक्टर रेड्डीका अनुसार ती महिला मानसिक रोगबाट पीडित थिइन् । उनले पितासँग कुनै विषयमा झगडा भएको र त्यही रिसमा ती वस्तु निलेको बताएकी छिन् ।

के यो घटना पहिलो हो ?

‘द टाइम्स अफ इन्डिया’ को प्रतिवेदनअनुसार सन् २०२५ मा उत्तर प्रदेशको हापुरमा रहेको एउटा अस्पतालमा ४० वर्षीय पुरुषको पेटबाट २९ वटा स्टीलका चम्चा, १९ वटा टुथब्रस र २ वटा कलम निकालिएको थियो ।

यस्तै ‘नेशनल लाइब्रेरी अफ मेडिसिन’ का अनुसार सन् २०२४ मा इरानको अहवाजमा रहेको इमाम खोमेनी अस्पतालका डाक्टरले ३६ वर्षीय पुरुषको पेटबाट ४५० भन्दा धेरै धातुका वस्तुहरू सफलतापूर्वक निकालेका थिए ।

विभिन्न वस्तुहरू निल्नु स्वास्थ्यसम्बन्धी एक गम्भीर समस्या हो र यो प्रायः बालबालिकामा देखिने गर्दछ । यद्यपि यो समस्या केही वयस्कहरूमा—विशेषगरी मानसिक स्वास्थ्य समस्या भएकाहरूमा—तथा कारागारहरूमा पनि बारम्बार देखिने गर्दछ ।