काठमाडौं – टेलिभिजन कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता तथा एड्भेन्चर बियर ग्रिल्स गत साता नेपाल भ्रमणमा थिए । एक साता यहाँ रहेका उनी सपरिवार लुक्ला र पोखरा घुम्न पुगे । लुक्लामा स्काई डाइभ गर्न पुगेका उनले त्यसपछि पर्यटकीय नगरी पोखरा पुगेर बन्जी जम्प पनि गरे ।

तर उनी नेपाल घुम्नभन्दा अर्कै मिसन लिएर आइपुगेको चर्चित बेलायती अखबार डेलीमेलले दाबी गरेको छ । मंगलबारको अनलाइन संस्करणमा प्रकाशित खबरअनुसार सगरमाथा आरोहणमा हराएको भनिएका माइकल म्याथ्युलाई खोज्न उनी आइपुगेको उल्लेख छ ।

डेलीमेलका अनुसार पिप मिडल्टन (बेलायती राजकुमारी केट मिडल्टनकी बहिनी)को देवरको शव खोज्न बियर ग्रिल्स नेपाल आइपुगेका थिए । बेलायतका कान्छा सगरमाथा आरोहीको रेकर्ड बनाएलगत्तै म्याथ्यु हिम दुर्घटनामा परेको जनाइएको छ ।

अक्सफोर्ड युनियनसँगको संवादमा ग्रिल्सले म्याथ्युको शव खोजीबारे उल्लेख गरेका छन् । ‘केही पश्चिमा आरोहीसहित १० नेपालीको उत्कृष्ट टिम हामीसँग थियो । हामीले एउटा शव पनि निकालेका थियौं, तर त्यहाँ म्याथ्युको शव थिएन,’ ग्रिल्सले भने ।

नेपालमा रहँदा ग्रिल्सले निर्मल पुर्जाको आरोहण कम्पनी एलिट एक्सिपिडिसनमार्फत लुक्ला भ्रमण गरेका थिए ।