काठमाडौं – उत्तर कोरियाले दक्षिण कोरियातर्फ क्षेप्यास्त्र प्रहार गरेको छ। कोरिया विभाजन भएयता पहिलो पटक दुई देशबीचको समुद्री सीमा पार हुने गरी क्षेप्यास्त्र प्रहार भएको छ।

छोटो दूरीको बलिस्टिक क्षेप्यास्त्र दक्षिण कोरियाली टापु उलुङ्डो नजिकै खस्दा त्यस टापुमा हवाई हमलाको चेतावनी दिने साइरन बजेको थियो।

उक्त सानो टापुका बासिन्दाहरूलाई भूमिगत आश्रयस्थलमा जान भनिएको छ।

स्थानीय समय अनुसार बिहान ९ बजेतिर प्योङयाङले कुल तीनवटा छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्रहरू उसको पूर्वी तटतर्फ प्रहार गरेको हो।

पछिल्ला प्रहारहरू प्योङयाङले अमेरिका र दक्षिण कोरियालाई यसै साता कोरियाली प्रायद्वीप आसपास संयुक्त सैन्य अभ्यासहरू नगर्न चेतावनी दिएको एक दिनपछि भएको हो।

दक्षिण कोरियाली अधिकारीहरूका अनुसार बुधवार बिहान प्योङयाङले कम्तीमा १० वटा क्षेप्यास्त्रहरू पूर्वी तटतर्फ प्रहार गरेको थियो।

सोलका जोइन्ट चीफ्स अफ स्टाफले ‘पूर्व र पश्चिमतर्फ प्रहार गरिएका ती विभिन्न खालका’ क्षेप्यास्त्रहरू रहेको भन्दै आफ्ना राष्ट्रपतिले प्योङयाङको पछिल्ला प्रहारहरूमाथि ‘तत्काल प्रतिक्रिया’ जनाउन आदेश दिएको जनाए।