गुजरात – भारतको पश्चिमी राज्य गुजरातमा एउटा झोलुङ्गे पुल खस्दा कम्तीमा १४१ जना मानिसहरूको मृत्यु भएको छ। मोरबी सहरमा भएको उक्त घटनामा सयौँ मानिसहरू मच्छू नदीमा खसेका थिए।

भिडिओ फुटेजहरूमा बच्न सफल भएकाहरू आंशिक रूपमा डुबेको पुलमा झुन्डिएका देखिन्थे। विवरणहरूका अनुसार घटना हुँदा लगभग ४०० मानिसहरू उक्त पुलमा थिए।

अधिकारीहरूका अनुसार अहिलेसम्म १७७ जनाभन्दा धेरै मानिसहरूको उद्धार गरिएको छ। २३० मिटर लामो ‍औपनिवेशिक समयको उक्त पुल १९औँ शताब्दीमा भारतमा ब्रिटिशहरूले शासन गर्दा बनाइएको थियो।

स्थानीय रूपमा जुल्टो पुलका रूपमा चिनिने उक्त पूर्वाधार त्यस क्षेत्रको एउटा प्रख्यात पर्यटकीय केन्द्रबिन्दु समेत हो।

पुल खस्ने अवस्था के कारण सिर्जना भयो भन्ने अझै प्रस्ट हुन सकेको छैन। स्थानीय अधिकारीहरूले दीपावलीको छुट्टीले गर्दा त्यहाँ निकै धेरै मानिसहरू जम्मा भएको बताएका छन्। बीबीसी नेपाली