रोल्पा – शैक्षिक सत्र सुरु भएको ६ महिना वितिसक्दा समेत रोल्पाका विद्यार्थीले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन् । कतिपय विद्यालयका शिक्षकले अनलाइनबाट डाउनलोड गर्ने र त्यसैलाई प्रिन्ट गरेर पढाइरहेका छन् । तर अधिकांश विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगेको छैन ।

नेपाल सरकारले कक्षा १२ सम्मका पाठ्यपुस्तकहरु निःशुल्क वितरण गर्दै आएको छ । तर समयमै विद्यार्थीले पुस्तक नपाउँदा पढाइ प्रभावित भएको शिक्षक र अभिभावकहरुले गुनासो गरेका छन् ।

हाल अंग्रेजी माध्यमबाट पढाइ हुने कक्षा १, २, ३, ४, ७ र ९ का सबै विषय र कक्षा १० को भूगोल विषयको पाठ्यपुस्तक आएका छैनन् । कक्षा ११ को नेपाली, अंग्रेजी, सामाजिक र कक्षा १२ को सामाजिक विषयको पाठ्यपुस्तक पनि आएका छैनन् ।

नेपाली माध्यमबाट पठनपाठन हुने पाठ्यपुस्तकहरु केही र अंग्रेजी माध्यमबाट पठनपाठन हुने अधिकांश पाठ्यपुस्तक उपलब्ध नभएको साझा प्रकाशनको अधिकृत विक्रेताहरुको भनाइ छ ।

‘आफूले समयमै पुस्तक उपलब्ध गराउन धेरै कोसिस गरे पनि पहुँचका आधारमा पाठ्यपुस्तक वितरण हुँदा रोल्पा प्राथमिकतामा परेन,’ साझा प्रकाशनको अधिकृत विक्रेता घनश्याम आचार्यले भने ।

अभिभावक दामोदर आचार्यले चालु शैक्षिक सत्रको अब ६ महिना मात्रै बाँकी रहँदा किताब हातमा आइपुग्ने हो कि होइन अझै टुंगो नभएको बताए । ‘विद्यार्थीले किताब नै नपाउँदा के पढ्ने ?’ उनले भने, ‘निर्वाचनका मत पत्र र राजनैतिक दलका घोषणा पत्र रातारात छपाइ हुन्छन् तर किताब छपाई प्राथमिकतामा पर्दैन ।’