काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको मुख्य प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनु रहेको बताउनुभएको छ ।

एशियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँगको आजको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि, ऊर्जा विकास, पूर्वाधार आधुनिकीकरण र डिजिटल रूपान्तरणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराउनुभयो ।

एडीबीका अध्यक्ष कान्डाले नेपाललाई दिँदै आएको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै डिजिटल पूर्वाधार, डिजिटल अर्थतन्त्र र रोजगारी प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्ने बताउनुभयो ।

अहिले नेपालमा एडीबीको झन्डै ४ अर्ब २० करोड अमेरिकी डलर बराबरको सक्रिय लगानी पोर्टफोलियो रहेको छ भने ३१ वटा परियोजना सञ्चालनमा छन् ।

नेपाल एडीबीको संस्थापक सदस्य हो र सन् १९६८ देखि एडीबीको विकास सहयोग प्राप्त गर्दै आएको छ ।