काठमाडौं – फिफा विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा आज राति साविक विजेता अर्जेन्टिना र इजिप्ट खेल्दैछन् । यो खेल राति पौने १० बजे अमेरिकाको एटलान्टा रङ्गशालामा शुरू हुनेछ ।

नकआउट चरणमा अर्जेन्टिनाले केब भर्डेलाई ३–२ र इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी शुटआउटमा ४–२ ले हराउँदै अन्तिम १६ मा पुगेका हुन् । अर्जेन्टिना समूह ‘जे’ को विजेता र इजिप्ट समूह ‘जी’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् ।

विश्वकपमा अर्जेन्टिना र इजिप्टबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि सन् १९२८ मा भएको ओलम्पिक फुटबल र २००८ मा भएको मैत्रीपूर्ण खेल दुवै अर्जेन्टिनाले जितेको थियो ।

विश्वकप फुटबलको अन्तिम प्रि–क्वाटरफाइनलमा भोलि बिहान पौने २ बजे स्विट्जरल्यान्ड र कोलम्बिया खेल्दैछन् । यो खेल क्यानडाको बीसी प्लेस भ्यानकुभर रङ्गशालामा हुनेछ ।

नकआउटमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० र कोलम्बियाले घानालाई १–० ले हराउँदै अन्तिम १६ मा पुगेका हुन् । स्विट्जरल्यान्ड समूह ‘बी’ र कोलम्बिया समूह ‘के’ को विजेताका रूपमा नकआउटमा पुगेका हुन् ।

विश्वकपमा स्विट्जरल्यान्ड र कोलम्बियाबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि सन् १९९४ को विश्वकपमा कोलम्बियाले स्विट्जरल्यान्डलाई २–० ले हराएको थियो ।

यस्तै यी दुई टोलीबीच मैत्रीपूर्ण र मियामी कपमा गरी तीन पटक भेट भएकोमा कोलम्बिया दुई खेलमा विजयी भएको छ भने एउटा खेल बराबरीमा सकिएको छ । एजेन्सी