काठमाडौं – फिफा विश्वकप फुटबलको प्रि–क्वार्टरफाइनल अन्तर्गत भोलि बिहान पौने ६ बजे मेक्सिकोसँगको खेल शुरू हुनुअघि इङ्गल्यान्डका खेलाडीले ‘’भियग्रा प्रयोग गर्न पाउने भएका छन् ।
सुन्दा अलि अचम्म लागे पनि २ हजार २०० मिटरभन्दा माथिको उचाइमा खेल हुने भएपछि ‘अल्टिट्युड सिकनेस’ सँग जुध्न चिकित्सकहरूले ‘भियग्रा’ प्रयोगको अनुमति दिएका हुन् ।
इङ्ग्ल्यान्ड र मेक्सीकोबीचको यो खेल हुने ‘एज्टेका’ रङ्गशालामा अक्सिजनको कमी हुने गर्दछ । यस्तोमा भियग्रामा हुने ’सिल्डेनाफिल’ नामक तत्त्वले खेलाडीको फोक्सो र रक्तनलीलाई फराकिलो बनाई शरीरमा अक्सिजनको प्रवाह बढाउन मद्दत गर्ने चिकित्सकहरूले बताएका छन् ।
भियग्रा विश्व एन्टी–डोपिङ एजेन्सी ‘वाडा’ को प्रतिबन्धित सूचीमा पर्दैन । यो अनौठो तयारीले मैदानमा कस्तो नतिजा ल्याउला भन्ने खेलपछि नै थाहा हुनेछ ।
इङ्गल्यान्डका खेलाडीहरूले यो औषधि प्रयोग गर्नेबारे अहिलेसम्म केही बताएका छैनन् । मेक्सिकोका खेलाडीहरू यो मैदानमा खेल्न अभ्यस्त छन् । एजेन्सी












