काठमाडौं – रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब १३ करोड ६१ लाख ८७ हजार ६८६ रुपैयाँ पुगेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मौज्दात १३ अर्ब ४९ करोड ४६ लाख ८९ हजार ९५७ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा तीन करोड पाँच लाख ३६ हजार १६९ अमेरिकी डलर पुगेको छ ।
भोटेकोशी बाढीको आज दुई महिना पुगेको छ । गएको भदौ १० मा रसुवाको लाङटाङ हिमालमा रहेको हिमनदी र चट्टानी भूभाग ल्हेन्दे हिमनदीमा खस्दा ल्हेन्दे खोला–भोटेकोशी–त्रिशूली–नारायणीमा आकस्मिक रूपमा बाढी आएको थियो ।
बाढीले रसुवागढी नाकासहित रसुवा र नुवाकोटका नदी आसपासमा ठूलो क्षति पुर्याएको छ । बाढी गएको दुई महिना बित्दा पनि विस्थापितको पुनःस्थापना अनिश्चित भएपछि उनीहरू कतिपय पुरानै ठाउँमा फर्किन थालेका छन् ।
संघीय सरकारले मासिक घरभाडा सहायता, अस्थायी आवास निर्माण र सुरक्षित जग्गा पहिचानको काम अघि बढाएको जनाएको छ । तर प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र विस्थापितहरू संघ सरकारको निर्णय कार्यान्वयन हुन नसकेको गुनासो गर्छन् ।










