काठमाडौं – आज बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाएर विजयादशमी मनाइँदै छ ।
टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान १० बजेर २६ मिनेटको साइत उत्तम रहेको जनाएको छ ।
पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । अर्थात्, टीका लगाइमाग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ । विजयादशमीको दिन दुर्गा विसर्जनपछि दिनभर टीका लगाउन सकिने भए पनि साइत खोज्नेहरुका लागि १० बजेर २६ मिनेट उत्तम रहेको समितिका अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो ।
समितिकाअनुसार घटस्थापना गरी जमरा राखेको ठाउँमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ । धर्मशास्त्रविद् सूर्यप्रसाद ढुंगेलकाअनुसार साइतमा नभ्याए दुर्गा विसर्जनपछि जुनसुकै बेला टीका लगाउन सकिन्छ ।
समितिले निर्धारण गरेको समयमा भ्याइएन भनेर चिन्ता गर्नु नपर्ने तथा पूर्णिमाको दिनसम्म टीका लगाउने चलन नै रहेको उहाँ बताउनुहुन्छ ।










