काठमाडौं – हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ताँजाकोट–४ गल्लाबाडा बस्ने ४७ वर्षीय कृष्णचन्द्र जैसी र ताँजाकोट–२ मा रहेको मैला स्वास्थ्य चौकीका संयोजक ४५ वर्षीय धनराज ढकाल रहेका छन् । पक्राउ परेका दुवै जनालाई हुम्ला जिल्ला अदालतमा उपस्थित गराई ७ दिनको म्याद थप गरिएको छ ।
यही भदौ ७ गते राति १ बजेतिर ताँजाकोट–३ टाकुरेमा रहेको गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो । घटनापछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट अनुसन्धानका लागि प्रहरी निरीक्षक ढकालको टोली घटनास्थलमा खटिएको थियो ।
आगलागीबाट जिन्सी शाखा, लेखा तथा जिन्सी र प्रशासन शाखामा क्षति पुगेको थियो । गाउँपालिकाको आर्थिक वर्ष २०७३/०७४ देखि अहिलेसम्मका लेखालगायत विभिन्न शाखाका कागजात जलेर नष्ट भएका थिए ।












