काठमाडौं – काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा विस्तार भएको छ ।

साझा यातायातका बस मध्यराति १२ बजेसम्म चल्ने गरी सेवा विस्तार भएको हो । संविधान दिवसको अवसरमा हिजोदेखि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका, कीर्तिपुर नगरपालिका, गोदावरी नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुरथिमी नगरपालिका र सूर्यविनायक नगरपालिकासहित नौवटा पालिकाको सहकार्यमा साझा यातायातले रात्रिकालीन बससेवा विस्तार गरेको हो ।

विस्तार गरिएका नयाँ रुट नागढुङ्गा–एयरपोर्टमा–४, गोदावरी हुँदै बुढानीलकण्ठमा–६, जगाती–रत्नपार्क ठमेलमा ६, कीर्तिपुर–रत्नपार्कमा ४ र चक्रपथमा ८ वटा विद्युतीय बस गरी २८ वटा बस रातमा चल्छन् ।

काठमाडौं महानगरका कार्यवाहक मेयर सुनिता डङ्गोलले यात्रुलाई सहजसँगै काठमाडौं उपत्यका दिउँसो मात्र होइन रातमा पनि चलायमान भएको बताउनुभएको छ ।

रात्रिकालीन सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले साझा यातायातले हिजोदेखि ६ वटा रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको हो । कम्पनीले अहिले सञ्चालनमा रहेको रात्रिकालीन सेवालाई चार गुणाले विस्तार गरेको हो ।

यसअघि काठमाडौं महानगरपालिका र साझा यातायातको सहकार्यमा गएको वैशाख १ गतेदेखि शुरु गरिएको रात्रिकालीन सेवाको प्रभावकारिता र विस्तारका लागि महानगरपालिकाले एक विशेष कार्यदल गठन गरेको थियो । शुरुआती तीन महिनामा ७ वटा विद्युतीय बसमार्फत २ वटा रुटमा मात्र सेवा सञ्चालन गरिएको थियो ।

महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित अध्ययन समितिको सिफारिसका आधारमा रात्रिकालीन यातायात सेवाको दायरा थप गरिएको हो ।