काठमाडौं – दशैँ अर्थात् नवरात्र अन्तर्गत आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष असोज शुक्ल नवमीका दिनमा दशैँ घर र कोतलगायत विभिन्न देवीमन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी०, देवीभागवत एवं देवीस्तोत्र पाठ गरी महानवमी मनाउने गरिन्छ ।
आजका दिन काठमाण्डौ उपत्यकाका गुहृयेश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, इन्द्रायणीमा विशेष पूजा तथा दर्शन गर्न ठूलो सङ्ख्याका भक्तजन पुग्ने गर्छन् ।
त्यसैगरी उपत्यका बाहिर नवलपुरको मौलाकालिका, धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी, डोटीको शैलेश्वरीलगायतका शक्तिपीठमा पूजापाठ गर्ने भक्तजनहरुको बिहानैदेखि घुइँचो लाग्छ ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेकाले आज दिनभर नै शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको हो ।
हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गरिन्छ । यसरी विभिन्न देवस्थल तथा घरघरमा नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ ।
भोलि बुधबार दशैँको मुख्य दिन विजयादशमी मनाइन्छ । टीकाको उत्तम साइत भोलि बिहान १० बजेर २६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार त्यसअघि बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरिनेछ ।
यसअघि हिजो र अस्ति दुई दिन अष्टमी तिथि परेको थियो । असोज शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा अस्ति गरिएकोमा राज्यको तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा गएराति गरियो । हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानकाअनुसार हनुमानढोका दरबारमा महाअष्टमीको कर्म गरेपछि लगत्तै अर्को दिन महानवमीको पूजा, आराधनालगायत कर्म गर्ने परम्परा रहेको छ ।










