काठमाडौं – इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर भएपछि उहाँलाई अस्पताल लगिएको इजरायली सञ्चारमाध्यमले दाबी गरेका छन् । च्यानल–१४ ले इरानभित्रका स्रोतहरूलाई उद्धृत गरी खामेनीको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ ।

त्यस्तै जेरुसेलम पोस्टले उद्धृत गरेको एक स्रोतले पनि खामेनीको स्वास्थ्य कठिन रहेको जनाएको छ । सन् २०२६ को फेब्रुअरी २८ मा अमेरिका र इजरायलले चलाएको संयुक्त सैन्य आक्रमणमा आफ्ना पिताको ज्यान गएपछि खामेनीले सर्वोच्च नेताको पद सम्हाल्नुभएको हो । तर पदभार ग्रहण गरेदेखि नै उहाँ कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थिति हुनुभएको छैन ।

उहाँले लिखित वक्तव्यमार्फत प्रशासनिक काम सञ्चालन गर्दै आउनुभएको छ । रिपोर्ट अनुसार खामेनी आक्रमणको शुरुमा नै घाइते हुनुभएको थियो। उहाँको स्थितिको बारेमा राष्ट्रपति मसूद पेजेस्कियानले राष्ट्रिय टेलिभिजन अन्तर्वार्तामा खामेनीसँग प्रत्यक्ष अन्तरक्रिया अहिले ‘निकै कठिन’ छ भनी स्वीकार्नुभएको थियो ।

यसले उहाँको स्वास्थ्यबारे गरिएका अड्कलबाजीमा थप मलजल मिलेको समाचार संस्था एएनआईले जनाएको छ । इरानको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले यसअघि उहाँका प्रारम्भिक चोटहरू सतही रहेको बताएका थिए । एजेन्सी