काठमाडौं – अमेरिकाको एउटा अदालतले चिनियाँ व्यापारी ग्वो वन्ग्वेलाई ३० वर्षको जेल सजाय सुनाएको छ । १ अर्ब डलर ठगी गरेको मुद्दामा अदालतले सजाय सुनाएको बीबीसीले जनाएको छ ।

ग्वो कुनै समय चीनका सबैभन्दा धनी व्यापारीमध्ये एक थिए । घरजग्गा व्यवसाय गर्दै आएका उनी सन् २०१७ मा चीनबाट भागेर अमेरिका पुगेका थिए । अमेरिकामा ग्वो चिनियाँ कम्युनिस्ट पार्टी ९सीसीपी० को आलोचकका रूपमा देखा परेका थिए । तर पछि उनी सङ्गठित अपराध, ठगी र सम्पत्ति शुद्धीकरणमा दोषी ठहरिए ।

सजाय सुनाउँदै न्युयोर्क अदालतकी न्यायाधीश एनालिसा टोरेसले ग्वोले चीनमा लोकतन्त्र ल्याउन चाहनेहरूलाई शिकार बनाएको र उनीहरूको पैसा आफ्नो विलासी जीवनशैली धान्नका लागि प्रयोग गरेको बताउनुभयो ।

चिनियाँ व्यापारी ग्वोले सन् २०१८ देखि २०२३ को अवधिमा लगानी र क्रिप्टोकरेन्सी योजनाहरू सञ्चालन गरेर आफ्ना अनलाइन समर्थकहरूबाट १ अर्ब डलरभन्दा धेरै रकम उठाएका अभियोजकहरूले बताएका छन् । उनले त्यो रकम आफ्नो भव्य जीवनशैलीका लागि ५० हजार वर्गफिटको घर, १० लाख डलरको ल्याम्बोर्गिनी कार र ३ करोड ७० लाख डलरको विलासी डुङ्गा किन्नमा खर्च गरेका खबरमा उल्लेख छ । एजेन्सी