काठमाडौं – स्विट्जरल्यान्डमा हुने भनिएको अमेरिका–इरान शान्ति प्रक्रियासम्बन्धी उच्चस्तरीय वार्ता अन्तिम समयमा रद्द भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधिमण्डलसँग भेट गर्न तय भएको स्विट्जरल्यान्ड भ्रमण स्थगित गरेपछि स्वीस विदेश मन्त्रालयले वार्ता नहुने बताएको समाचार संस्था एएफपीले जनाएको छ ।
अमेरिका–इरानबीच आज स्विट्जरल्यान्डमा शान्ति सम्झौता समारोह हुने तय भएको थियो । मन्त्रालयका अनुसार बर्गेनस्टकमा आवश्यक तयारी चलिरहे पनि नयाँ मिति तय भएको छैन । स्विट्जरल्यान्डले वार्ता सहज बनाउन आफू तयार रहेको जनाएको छ ।
यो वार्तालाई भर्खरै सम्पन्न भएको सम्झौतापछि अगाडि बढ्ने दोस्रो चरणको छलफलका रूपमा हेरिएको थियो । यसको उद्देश्य इरानसँगको द्वन्द्व अन्त्य गर्ने, हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने तथा इरानको आणविक कार्यक्रमलगायत विषयमा ६० दिनभित्र सहमति खोज्ने रहेको उल्लेख गरिएको थियो ।
अमेरिकी प्रशासनका अनुसार कूटनीतिक प्रक्रिया जटिल र अस्थिर भएकाले समय तालिका बारम्बार परिवर्तन भइरहेका छन्, तर प्राविधिक तहका छलफल छिटै शुरू गर्ने तयारी भइरहेको छ ।
समाचारहरूमा आएअनुसार सम्झौतामा अमेरिका र इरानका शीर्ष नेतृत्वबीच छुट्टाछुट्टै हस्ताक्षर भएको दाबी गरिएको छ जसलाई लिएर विभिन्न राजनीतिक प्रतिक्रिया आएका छन् । इरानका सर्वोच्च नेता अयातुल्ला मोजताबा खमेनीले केही असहमति हुँदाहुँदै पनि राष्ट्रहितका कारण सम्झौतालाई अनुमोदन गरेको बताउनुभएको छ । यद्यपि ती दाबीहरूको स्वतन्त्र पुष्टि भने भएको छैन ।
इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबफले सम्झौताको उल्लङ्घन भए ‘निर्णायक जवाफ’ दिने चेतावनी दिनुभएको छ । यस्तै अमेरिकी सेनाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाएको बताइएको छ भने आफ्ना युद्धपोतहरू क्षेत्रमै रहने जनाएको छ ।
यसैबीच लेबनानमा इजरायल र हिजबुल्लाहबीच तनाव पुनः बढेको छ । हिजबुल्लाहले आफ्ना लडाकूहरूले इजरायली ट्याङ्कमा आक्रमण गरेको दाबी गरे पनि इजरायलले त्यसको पुष्टि गरेको छैन । दुवै पक्षबीच सीमावर्ती क्षेत्रमा आक्रमण–प्रत्याक्रमण चलिरहेको खबरमा उल्लेख छ । एजेन्सी













