काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिंदैछन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिए ।

‘हिजो नै राजीनामा दिने सोचेका थियौं तर पार्टी बैठकले सम्भव भएन । अहिले बिहान ८ बजे प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी छ’, परियारले भने ।

बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए ।

सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् । मंगलबार बसेको रास्वपाको पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनको सरकारमा सहभागी नहुने निर्णय गरेको थियो ।