डोटी – डोटीको जोरायल गाउँपालिका–१ खडिनामा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

दार्चुलाबाट धनगढीतर्फ गुडिरहेको जीप दुर्घटना हुँदा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै र त्यही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा ज्यान गएको हो ।

आज बिहान भएको दुर्घटनामा घाइते भएकाहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जीपमा चालकसहित नौ जना सवार रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो । रासस