काठमाडौं – चीनसँगको तातोपानी नाका अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका अनुसार आज केही मालवाहक गाडी आउने र जाने गरी तयारी भइरहेको छ ।

चाडपर्वको बेला भएकाले वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले अस्थायी रूपमा मात्रै नाका सञ्चालनमा आउन लागेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । लामो समयदेखि चिनियाँ सुरक्षा चासो, बाढी पहिरो र सडक अवरोधका कारण तातोपानी नाका बन्द रहेको र हालै नाका खोल्न चिनियाँ पक्ष सकारात्मक भएपछि तत्कालका लागि अस्थायी सञ्चालन गर्न लागिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसअघि आजदेखि पर्सि ३ गतेसम्म तीन दिन तातोपानी नाका सञ्चालन हुने जनाएको थियो । यो अवधिमा कार्गो ट्रकलाई मात्र आवतजावत गर्न अनुमति दिइनेछ । नेपाल र चीनबीचको व्यापारका लागि महत्त्वपूर्ण मानिने तातोपानी नाका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको नेपाल–चीन सीमामा पर्छ ।