काठमाडौं – अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आपराधिक मुद्दामा दोषी ठहर भएका छन् । पोर्नस्टार स्ट्रेमी ड्यानियल्ससँगको सम्बन्धलाई दबाउन लाखौँ डलर दिएको आरोप लागेका ट्रम्पलाई न्युयोर्क ट्रायल कोर्टमा सम्पन्न जुरी सुनवाइले दोषी ठहर गरेको हो ।

अमेरिकाका ४५ औँ राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमै फौजदारी मुद्दामा दोषी ठहर हुने पहिलो राष्ट्रपति भएका बीबीसीले जनाएको छ । ट्रम्प आउँदो राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीका उम्मेदवारसमेत हुन् ।

फैसलापछि संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले फैसला अपमानपूर्ण आएको भन्दै अदालतमा धाँधली भएको बताएका छन् ।

फौजदारी मुद्दामा दोषी ठहर भएपछि उनको अबको राजनीतिक यात्रा सुखद नहुने विश्लेषकहरूले बताएका छन् । आउँदो जुलाई ११ मा पूर्वराष्ट्रपति ट्रम्पलाई सजाय निर्धारण गरिनेछ ।