काठमाडौं – भारत र दक्षिणी बङ्गदेलाशको तटीय क्षेत्रमा आएको रेमल नामको आँधीका कारण अहिलेसम्म १६ जनाको ज्यान गएको छ । आँधीका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ । कयौँ घर ध्वस्त भएका र रुखहरु ढलेका छन् । विद्युत लाइनमा क्षति पनि पुगेको बीबीसीले जनाएको छ ।

यो बीचमा केही डुबेर, केहीको करेन्ट लागेर र केहीको भत्किएका घरमुनि पुरिएर ज्यान गुमाएको हो । बङ्गदेलादेशको मोङ्ला बन्दरगाह र भारतको पश्चिम बङ्गालको सागर टापु आसपासका क्षेत्रमा एक सय १० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको हावाहुरी, मुसलधारे वर्षा र ज्वारभाटाका कारण तल्लो तटीय क्षेत्र जलमग्न भएको थियो ।

अस्ति आइतवार बेलुकादेखि सक्रिय आँधीका कारण झण्डै १० लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । स्थानीय अधिकारीहरुकाअनुसार ३६ लाख बालबालिकासहित झण्डै ८४ लाख मानिस चक्रवातबाट प्रभावित भएका छन् । आइतवार आएको आँधी हिजो सोमवारदेखि भने केही कमजोर भएको भारतको मौसम विभागले जनाएको छ ।