काठमाडौं – अष्ट्रियाको भियना सहर बस्नका लागि सबैभन्दा योग्य सहरको सूचीमा कायमै रहेको छ । सन् २०२२ मा पनि भियना नै यो सूचीको पहिलो नम्बरमा थियो ।

भियना यसअघि सन् २०१८ र २०१९ मा लगातार दुई वर्ष बस्नयोग्य सहरको सूचीको पहिलो नम्बरमा थियो । सन् २०२१ मा भने पहिलो नम्बरमा न्युजिल्याण्डको अकल्याण्ड थियो । सन् २०२२ मा फेरि भियना पहिलो स्थानमा फर्किएको थियो ।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू)ले विश्वभर गरेको सर्वेक्षणको आधारमा बस्न योग्य सहरको सूची सार्वजनिक गर्दछ । शिक्षा, स्वास्थ्य, सँस्कृति, पर्यावरण, स्थीरता लगायतका सूचकका आधारमा भियना बस्नका लागि सबैभन्दा योग्य सहर ठहरिएको ईआईयूले जनाएको छ ।

दोस्रो नम्बरमा डेनमार्कको कोपनहेगन, तेस्रोमा अष्ट्रेलियाको मेलबर्न र चौथो नम्बरमा अष्ट्रेलियाकै सिड्नी सहर छन् । यसैगरी पाँचौ नम्बरमा क्यानडाको भ्यानकुभर र छैटौंमा स्वीटजरल्याण्डको जुरिच सहर छन् ।

क्यानडाको क्यालगरी, स्वीटरजरल्याण्डको जेनेभा, क्यानडाको टोरन्टो, जापानको ओशाका र न्युजिल्याण्डको अक्ल्याण्ड पनि बस्नयोग्य सहरको सूचीमा उत्कृष्ट दसमा परेका छन् ।

बस्नयोग्य सहरको सबैभन्दा पुछारमा सिरियाको दमास्कस सहर छ । यसैगरी लिबियाको ट्रिपोली, अल्जेरियाको अल्जियर्स, पाकिस्तानको कराँची, पपुवान्युगिनीको पोर्ट मोर्स्बी, बंगलादेशको ढाका, जिम्बाव्वेको हरारे, युक्रेनको किभ र क्यामरुनको दुआला पनि पुछारका १० सहरको सूचीमा सूचीकृत छन् ।