लुम्बिनी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी करिब ६ घन्टाको व्यस्त कार्यतालिकासहित सोमबार बिहान लुम्बिनी आउँदै छन् । भारतबाट प्रधानमन्त्रीको स्तरमा पहिलोपटक लुम्बिनी भ्रमण हुन लागेको हो ।
बुद्धजयन्तीको पावन दिनमा मोदीको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धन र गौतम बुद्धको जन्मस्थानका बारेमा विश्वमा उत्पन्न भ्रम निवारण गर्नेछ। यो भ्रमण भारतको सुरक्षा चासो सम्बोधनका लागि परिस्थिति निर्माण गर्ने महत्त्वपूर्ण अवसर हुनेछ।
मोदीले आठ वर्षअघि सार्कको १८औँ शिखर सम्मेलनका वेला काठमाडौंमा लुम्बिनी भ्रमण गर्ने उद्घोष गरेअनुसार यसपटक भ्रमणको अनुकूलता मिलेको हो। मोदीको लुम्बिनी भ्रमणका लागि दुई देशका कूटनीतिक अधिकारीबीच करिब ६ महिनादेखि कुराकानी हुँदै आएको थियो ।
विशेषतः भारतीय नवनियुक्त विदेशसचिव विनयमोहन क्वात्राले काठमाडौंमा राजदूत छँदा गरेको प्रयासको प्रतिफलका रूपमा भारतीय अधिकारीहरूले यो भ्रमणलाई लिएका छन्। प्रधानमन्त्री मोदीले यसअघि काठमाडौंस्थित पशुपतिनाथ, जनकपुरधामस्थित जानकी र मुस्ताङस्थित मुक्तिनाथ मन्दिर दर्शन गरिसकेका छन्।
नागरिक र धर्मावलम्बीका रूपमा मोदीले लुम्बिनी भ्रमण पहिल्यै गरिसकेका छन्, तर प्रधानमन्त्रीको ओहोदामा उनको पहिलो भ्रमण हो। मोदीभन्दा अघि कुनै पनि भारतीय प्रधानमन्त्रीले लुम्बिनी टेकेका थिएनन् ।
मोदीको लुम्बिनी भ्रमणका विषयमा नेपाल र भारत दुवैतिर चासो र चर्चा छ। लुम्बिनी भ्रमणलाई लिएर भारतमा विपक्षीहरूको पनि विमति प्रकट भएको छैन।
भारतीय राजनीतिज्ञ एवं नेपाल भारत सम्बन्धका जानकार सुधीन्द्र भदोरियाको बुझाइमा बुद्ध शान्तिप्रेमीहरूका साझा व्यक्तित्व भएकाले र बौद्धधर्म तुलनात्मक रूपमा शान्तिवादी भएका कारण बुद्धको जन्मस्थल लुम्बिनीप्रति सबैको सम्मान छ।
मोदीको यही समयमा लुम्बिनी भ्रमण हुनुको अर्थबारे केही दिनअघि पत्रकारहरूले सोधेको प्रश्नमा विदेशसचिव क्वात्राले ३० वैशाखमा दिएको जवाफ थियो, ‘यसबारे धेरै सोचिरहनुपर्दैन, दुई देशबीच साझा सभ्यताको प्रतीक लुम्बिनी भएकाले प्रधानमन्त्रीको भ्रमण हुन लागेको हो। भ्रमणको अरू कुनै पनि अर्थ लगाउनु आवश्यक छैन।’
मोदीको भ्रमण नेपाल र भारत दुवैका लागि अर्थपूर्ण छ। नेपालका लागि मोदीको भ्रमण गौतम बुद्धको जन्मस्थलबारे विश्वमा उत्पन्न भ्रम निवारण र बौद्धमार्गी पर्यटकहरूको संख्या वृद्धि गर्ने हिसाबले महत्त्वपूर्ण छ।
गौतम बुद्धले हाल भारतीय भूमिमा रहेका बोधगयामा बुद्धत्त्व (ज्ञान) प्राप्त गरेकाले भारतले आफूलाई बुद्धभूमि भन्दै आएको छ। नेपालले भने सिद्धार्थ गौतमका रूपमा गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेको हुनाले बुद्धलाई आफ्नो भन्दै आएको छ।
गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्माणको भूगोल अहिलेको नेपाल र भारत दुवैमा छन् । भारतीय प्रधानमन्त्री मोदीले गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी रहेको भन्दै आएका छन् । उनले नेपालमा र बाहिर पनि पटकपटक बुद्धको जन्मस्थानबारे द्विविधा उत्पन्न गरेका छैनन्। सिद्धार्थ गौतमले ज्ञान प्राप्त गरेको भूमि भारतमा रहेका कारण बुद्धप्रति भारतको अपनत्व भएको हो।
जसरी पहिलोपटक सगरमाथाको आरोहण गर्ने तेन्जिङ नोर्गे शेर्पालाई नेपाल र भारत दुवैले आफ्नो मानिरहेका छन्। बुद्धको साझा विरासत रहेका कारण दुवैले अपनत्व लिनु अन्यथा होइन। तर, यसको साझा विकास र प्रवर्द्धनले दुवैलाई सांस्कृतिक र आर्थिक फाइदा हुनेछ।
मोदी भारतीय प्रधानमन्त्री मात्र नभएर अहिले विश्वले हेर्ने र सुन्ने नेता भएकाले उनले लुम्बिनीबाट दिने सन्देश नेपालका लागि महत्त्वपूर्ण हुनेछ। मोदीको यही भ्रमणले गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएको सन्देश एकैसाथ प्रवाह हुनेछ। यो नेपालका लागि महत्त्वपूर्ण अवसर हो ।
दोस्रो, भारतका बौद्ध सम्पदा र नेपालका बौद्ध सम्पदाबीचको सम्बन्धको महत्त्व यो भ्रमणले थप उजागर गरिदिनेछ। कुनै समय मोदीले नेपालविना भारतमा राम र चारधाम अधुरो हुने बताएका थिए। अब लुम्बिनीविना बौद्ध धर्म अभाव हुने सन्देश उनले दिनेछन्। भारतमा आउने बौद्धमार्गी पर्यटक वा तीर्थयात्री नेपालमा आउने वातावरण बन्ने सम्भावना थप बढेर जानेछ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै बौद्धमार्गी पर्यटक विश्वबाट सोझै लुम्बिनी आउने सम्भावनाको द्वार खुलेको छ। मोदीको भ्रमणले यसमा थप प्रवर्द्धन हुनेछ।
भारतका लागि लुम्बिनी भ्रमण भूराजनीतिक रूपमा महत्त्वपूर्ण हुनेछ। मोदीको भ्रमणसँगै विशेष गरी यो क्षेत्रमा भारतको भूमिका र प्रभाव बढ्नेछ। लुम्बिनी वास्तवमा सांस्कृतिक रूपमा मात्र जोडिएको छैन, भारतको सबैभन्दा संवेदनशील र ठूलो राज्य उत्तर प्रदेशसँग सुरक्षाका हिसाबले पनि जोडिएको छ।
लुम्बिनीमा नेपालको छिमेकी चीन मात्र नभएर अमेरिका, युरोपदेखि अन्य बौद्धमार्गी शक्तिशाली मुलुक पनि जोडिएका छन्। विगत १२ वर्षअघि एपेक नामको विवादास्पद चिनियाँ परियोजनाले लुम्बिनीलाई गिजोलेको थियो। करिब तीन अर्ब अमेरिकी डलर खर्च गर्ने भन्दै आएका चिनियाँहरूले त्यसवेला प्रचण्डसहितका नेतालाई प्रभावमा पारेर लुम्बिनीको कायापलट हुन्छ भन्ने सपना देखाएका थिए। चिनियाँ संस्था नै त्यति धेरै लगानी गर्ने हैसियतको नभएको धेरै पछि थाहा भयो।
त्यतिन्जेल फैलिएको भूराजनीतिक त्रासदीका कारण नीति निर्माणकर्ताहरू अलमलिँदा लुम्बिनीको विकासमा अवरोध भएको थियो। कम्तीमा अब त्यो अवस्था छैन। लुम्बिनीको विकासमा नेपाल र भारतबीच सहकार्यका लागि अहिले रहेको चुनौतीरहित अवस्थाको उपयोगका लागि मोदीको भ्रमण अवसर बन्न सक्छ।
लुम्बिनीसँग सांस्कृतिक सहकार्यले भारतको सुरक्षा हित स्वभाविक रूपमा सम्बोधन हुनेछ। मोदी भ्रमणको यसकारण पनि भूराजनीतिक र भूरणनीतिक महत्त्व छ। लुम्बिनीमा अन्य बौद्धमार्गी मुलुकहरूझैँ छिमेकी भारत प्राकृतिक साझेदार हो।
लुम्बिनीमा नेपाल भारत साझेदारी दुवै मुलुकको हितमा छ। लुम्बिनीको विकास नेपालकै अग्रसरतामा हुन्छ र यसको लाभकारी नेपाल नै हुने हो। भारतीय प्रधानमन्त्रीले भारतस्थित बौद्ध सम्पदाको प्रवर्द्धन र संवर्द्धनमा चासो दिनु, त्यहाँको हित हेर्नु अन्यथा होइन। लुम्बिनीको प्रवर्द्धन गर्ने दायित्व नेपाल सरकारको हो। नेपालले आफ्नो आर्थिक हित थप सुरक्षित गर्ने अवसर मोदीको भ्रमणले दिलाइदिएको छ। साभार : नयाँपत्रिका












