काठमाडौं – ललितपुरको मङ्गलबजारमा आज भिन्द्यो अर्थात् भीमसेनको जात्रा हुँदैछ । भिमसेनलाई शुभ देवताका रुपमा पुजा गर्ने परम्परा छ ।
पाटनवासीले भीमसेन जात्रालाई रातो मच्छिन्द्रनाथ जात्रापछिको दोस्रो ठूलो जात्राका रूपमा मान्ने गरेका छन् । ललितपुरको मंगलबजारमा रहेको भिमसेनका मुर्तिहरुमध्ये पित्तलको मुर्तिलाई खटमा राखेर बेलुका ७ बजेपछि नगर परिक्रमा गराईन्छ ।
खटको अगाडी र पछाडी मानिसहरु धुप बालेर जात्रामा सहभागि हुन्छन् । भीमसेनलाई बालेको धुपबत्ति घर लगेर पुजास्थानमा राखेमा शुभ हुने जनविश्वास छ ।
विशेषगरी नेवार समुदायमा भीमसेनलाई व्यापार–व्यवसायका देवताका रूपमा श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ । यस जात्राले धार्मिक आस्था र व्यापारिक समृद्धिको कामनासँगै पाटनको मौलिक सांस्कृतिक परम्परालाई समेत निरन्तरता दिँदै आएको छ ।










