काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीहरूका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान सुरु गरेको छ ।
अख्तियारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको शासनकालमा स्वकीय सचिव रहेका भानु देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय सचिव एवं छोरी गंगा दाहालको परिवारको सम्पत्ति अनुसन्धान सुरु गरेको हो ।
‘भानु देउवाको सम्पत्ति विस्तृत अनुसन्धानका लागि फारम (बोलीचालीको भाषामा १३ पाने फारम) भराइसकेको छ,’ अख्तियारसम्बद्ध उच्च स्रोतले भन्यो, ‘गंगा दाहालको परिवारको नाममा रहेको सम्पत्तिमाथि समेत अनुसन्धान सुरु भएको छ ।’
आयोगमा परेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अधिकृत तोकेर भानुको परिवारका नाममा रहेको सम्पत्तिको छानबिन सुरु गरेको हो । त्यसक्रममा उनको बैंक खाता विवरणदेखि जग्गा र शेयरहरूको लगत विवरण मगाउने काम चलिरहेको अख्तियारसम्बद्ध स्रोतले बतायो ।
त्यसैगरी पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कार्यकालकी स्वकीय सचिव गंगा दाहालको परिवारको सम्पत्ति अनुसन्धान समेत सुरु भएको छ । अख्तियार सम्वद्ध स्रोतका अनुसार गंगा दाहाल र उनका पति जीवन आचार्यको एकसाथ सम्पत्ति अनुसन्धान अघि बढेको हो । जीवन आचार्य कोशी प्रदेशसभाका सदस्य एवं कोशी प्रदेश सरकारका पूर्वमन्त्री समेत हुन् ।













