काठमाडौं – जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि कुमामोतोमा रहेको इओन मलमा विस्फोट हुँदा कैयौँ मानिसहरू फसेका बीबीसीले जनाएको छ । झन्डै ५० जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
क्यूशू टापुको भित्री भागमा स्थानीय समयानुसार दिउँसो ४ बजेर २७ मिनेटमा गएको भूकम्पलगत्तै डेढ लाखभन्दा धेरै मानिसहरूलाई सुरक्षित ठाउँमा जान भनिएको छ ।
भूकम्पपछि दिइएको सुनामीको अल्पकालीन चेतावनी भने १ घण्टाभित्रै फिर्ता लिइएको छ । जमिनमुनि १० किलोमिटर गहिराइबाट उत्पन्न भूकम्पका कारण शक्तिशाली परकम्पहरू आउन सक्ने चेतावनी दिइएको छ ।
राष्ट्रिय प्रसारण संस्था एनएचकेका अनुसार सडक तथा पुलहरू चर्किएका छन् र कैयौँ भवनहरूमा आगो लागेको छ । भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौँ घरहरूमा विद्युत् आपूर्ति बन्द भएको छ ।
जापान विश्वमै भूकम्पको धेरै जोखिममा रहेको देशहरूमध्ये एक हो । गएको डिसेम्बरमा जापानमा ७.५ म्याग्निच्युडको भूकम्प जाँदा ३० जना घाइते भएका थिए ।
सन् २०११ को मार्चमा जापानमा ९ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो सुनामी आएको थियो । सुनामीमा परी १८ हजार जनाभन्दा धेरैको ज्यान गएको थियो ।
यसैबीच अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए) ले सामाजिक सञ्जाल ’एक्स’ मा लेख्दै भूकम्पले केन्द्रविन्दुबाट झन्डै १ किलोमिटर टाढा रहेको सेन्डाई आणविक ऊर्जा केन्द्रमा कुनै क्षति वा सुरक्षा समस्या नपुर्याएको र त्यो सञ्चालनमै रहेको जानकारी गराएको छ । एजेन्सी













