काठमाडौं – अमेरिकाको फ्लोरिडा राज्यमा भएको निजी विमान दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । दुर्घटनामा विमानमा रहेका सबै ९ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

त्यहाँको संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार दुर्घटनाग्रस्त लियरजेट–६० विमान टेक्सासको अस्टिनबाट उडेर बहामास जाने क्रममा दुर्घटनामा परेको थियो । स्थानीय समयअनुसार हिजो दिउँसो १२ बजेर ५० मिनेटमा पाम बिच काउन्टीको क्रेस्टहेभन क्षेत्रनजिक विमान दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनापछि विमान खसेको ठाउँमा ठूलो खाल्डो बनेको थियो भने सडकमा आगो, धुवाँ, कङ्क्रिटका टुक्रा र विमानका अवशेष छरिएका थिए । दुर्घटनाको समयमा त्यस क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको भनिए पनि खराब मौसम नै दुर्घटनाको कारण हो वा होइन भन्नेबारे पुष्टि नभएको खबरमा उल्लेख छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै नजिकैको ट्रेलर पार्क क्षेत्रमा बसोबास गर्ने झण्डै ६०० स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । विमान ठोक्किँदा सडक तथा खानेपानीका पाइप लाइन लगायत स्थानीय पूर्वाधारमा समेत क्षति पुगेको अधिकारीहरूले बताएका छन् ।

क्षतिग्रस्त मिलिटरी ट्रेल सडक पुनः सञ्चालनमा आउन कम्तीमा ३० दिन लाग्न सक्ने जनाइएको छ । अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) र संघीय उड्डयन प्रशासनले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाउने भएका छन् ।