काठमाडौं – अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध शुरू गरेको आज सय दिन पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तामै युद्ध अन्त्य हुने दाबी गरे पनि सय दिनसम्म निष्कर्षमा पुग्न सकिएको छैन । वार्ताहरू निष्फल भएपछि अस्थायी युद्धविराम गरी थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेको छैन ।
इरानले हिजो बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेपछि खाडी क्षेत्रमा तनाव झन् बढेको छ । यो आक्रमणलाई बहराइन सरकारले खुला आक्रमण भनेको छ भने कुवेतले खतरनाक तनाव वृद्धि भन्दै कडा निन्दा गरेको छ ।
पहिले नै कमजोर रहेको युद्धविराम यस घटनाले झनै जोखिममा परेको छ । अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि बमबारी शुरू गरेकै दिन सर्वोच्च नेता अली खामेनीको निधन भएको थियो ।
यसको जवाफमा इरानले इजरायल र मध्यपूर्वका विभिन्न लक्ष्यमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै ऊर्जा ढुवानीका लागि अत्यन्त महत्त्वपूर्ण हर्मुज जलसन्धि बन्द गरिदियो, जसका कारण विश्व बजारमा तेल र ग्यासको मूल्य तीव्र रूपमा बढेको छ ।
अप्रिल ६ मा दुई पक्षबीच अस्थायी युद्धविराम भए पनि बेलाबेला झडपहरू भइरहेका छन् । हर्मुज क्षेत्रमा इरानको अवरोध र इरानी बन्दरगाहमा अमेरिकाको नौसैनिक घेराबन्दी अझै कायमै छ । एजेन्सी












