काठमाडौं – मध्यपूर्वमा द्वन्द्व चर्किएसँगै इरानले तेल र ग्यास मार्ग होर्मुजको जलडमरूम अर्थात् होर्मुज घाँटी हुँदै जाने जहाजमा आक्रमण गर्ने चेतावनी दिएको छ । इरानका एक अधिकारीले जलडमरूम हुँदै जाने कुनै पनि जहाजलाई ‘आगो लगाउने’ चेतावनी दिएका बीबीसीले जनाएको छ ।
इरानको रिभोलुसनरी गार्ड कर्प्रस (आईआरजीसी) का कमाण्डरले यो जलमार्ग बन्द गरिएको र त्यहाँबाट पार हुन खोज्ने कुनै पनि जहाजलाई जलाउने चेतावनी दिएका खबरमा उल्लेख छ । विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा मार्ग प्रभावित भएसँगै तेलको भाउ बढ्दो क्रममा छ ।
विश्वभर खपत हुने तेल र ग्यास ओसारपसार हुने जलमार्ग लगभग ठप्प जस्तै भएको छ । स्ट्रेट अफ होर्मुज एकातिर ओमान र युएई तथा अर्कोतिर इरानकोबीचमा अवस्थित छ ।
यसैबीच साउदी अरबको रक्षा मन्त्रालयले रियादमा रहेको अमेरिकी दूतावासमा दुई ड्रोनले आक्रमण गरेको पुष्टि गरेको छ । दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा विज्ञप्तिमार्फत आक्रमणबाट भवनमा सामान्य क्षति भएको जनाएको छ ।
यसैबीच चार दिनदेखि इजरायल र अमेरिकाले गरिरहेको आक्रमणबाट इरानमा ज्यान गुमाउनेको सङ्ख्या ७ सय ४२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ९६ जना सहित ७ सय ४२ जनाको ज्यान गएको इरानी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । एजेन्सी











