काठमाडौं – कोरोना महामारीले सिर्जना गरेको शून्यतालाई भर्न कलाकारले धमाधम फिल्म साइन गरिरहेका छन् । विपिन कार्कीदेखि अनमोल केसीसम्मले एकै सातामा दुई वा दुईभन्दा बढी फिल्ममा आफूलाई जोडेका छन् ।
विपिनको मुख्य भूमिका रहने फिल्म ‘प्रसाद २’ छायांकनको तयारीमा छ । बलिउड फिल्म ‘एनिमल’, रामबाबु गुरुङको अनटाइटल फिल्म र सम्भवतः ‘लू’ उनका आगामी फिल्म हुन् ।
एक साताकै अन्तरालमा अनमोलले तीन फिल्ममा साइन गरेका छन् । ‘छड्के २’ सिरिज, सुदर्शन थापाको अनटाइटल फिल्म र अहिले ‘जेरी २’मा अनमोल अनुबन्धित भएका छन् ।
सकेसम्म कम फिल्म खेल्ने स्वभाव बसालेका अनमोल फिल्मलाई लिएर चुजी थिए । उनले प्राप्त अफरलाई पनि नकार्दै फिल्म छान्ने गर्थे । उनको बजार दृष्टिकोण भनेको हत्तपत्त फिल्म खेल्दैनन् भन्ने थियो ।
यति मात्र होइन, अनमोल सिमोस सुनुवारले निर्देशन गर्ने फिल्म पारस, माइतीघर २ सहितको तयारीमा छन् । हेर्दा उनी कम्तीमा डेढ वर्ष व्यस्त भएको देखिन्छ ।
अनमोल र विपिन मात्र हैनन्, दयाहाङ राई र सौगात मल्लको प्रवृत्ति पनि त्यस्तै छ । यी दुई कलाकार कम्तीमा एक वर्ष पूरै व्यस्त छन् । सौगातले त आफूले निर्माण गरेको फिल्मलाई समय दिनुपर्ने भन्दै तीन महिना कुनै फिल्म नगर्ने बताइसकेका छन् ।