काठमाडौं – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले अभद्र, असभ्य एवं सामाजिक सहिष्णुतालाई खलल पुर्‍याउने गायन प्रस्तुति दिएको भन्दै १२ कलाकारलाई स्पष्टीकरण सोधेको छ ।

युट्युव लगायत श्रव्यदृश्य प्लाटफर्मबाट त्यस्ता गीतलाई ७ दिनभित्र हटाउन समेत प्रतिष्ठानले सचेत गराएको छ ।

यसरी स्पष्टीकरण सोधिएका कलाकारमा शर्मिला रायमाझी, नवीना सिलवाल ‘खुईली’, रिया खड्का, शंकर सुनार, नवराज काप्री ‘धादिङे भाले’, सुशीला लामा, तारा थापा, सागर बीसी, सीताराम परियार, सलिना नेपाल, विशाल सोनी र गोपाल नेपाल ’जीएम’ छन् ।

यीमध्ये केहीलाई प्रत्यक्ष दोहोरी र केहीलाई अफिसियल गीतमा विकृति भित्राएको भन्दै स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरणको पत्र जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रहरी कार्यालयमा समेत पठाइएको छ ।

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले ती कलाकारले ७ दिनभित्र लिखित स्पष्टीकरण दिनुपर्ने र आइन्दा त्यस्ता गीत नगाउने सर्त पुरा गर्नुपर्ने बताइन् । कलाकार नसच्चिए थप कानूनी उपचारमा अघि बढ्ने चेतावनी समेत उनले दिइन् ।

प्रतिष्ठानले दुई साताअघि विज्ञप्ति जारी गर्दै अपाच्य शैलीका दोहोरी बन्द गराउन सम्बन्धित कलाकार, स्टुडियो र युट्युब च्यानल सञ्चालकलाई सचेत गराएको थियो । गतसाता केन्द्रिय सदस्य समेत रहेका गायक बालचन्द्र बराललाई ६ महिनाको लागि निलम्बन गरेको छ