अमेरिका – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी-२० विश्वकप २०२४ मा आफूहरुले उत्कृष्ट क्रिकेट खेलेर समर्थकहरुलाई गर्व महसुस गराउने बताएका छन् ।

२० टोली सहभागी टी-२० विश्वकप आइतबारदेखि अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ । नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

‘अमेरिकामा आएपछि धेरै समर्थकहरुसँग कुरा गरें । हामीभन्दा बढी तयार समर्थकहरु छन् । मंगलबार नेदरल्यान्ड्सविरुद्ध धेरै साथ दिने समर्थकले बताउँदा एकदमै खुसी लागेको थियो । नेपालमा त झन् हामीभन्दा तीन गुणा बढी तयार छन्’, रोहितले भने, ‘हामी आफ्नो उहाँहरुलाई उत्कृष्ट क्रिकेट खेलेर गर्व अनुभव हुने प्रयास गछौं । टिम विश्वकपको लागि तयार छ ।’

विश्वकप खेल्न एकदमै उत्साहित भएको रोहित बताउँछन् । ‘विश्वकपको लागि एकदमै उत्साहित छु । झण्डै एक महिनादेखि हामी देश बाहिर छौं । विश्वकप नजिक आएसँगै त्यो उत्साहित स्तर झनै बढ्दै गएको छ’, रोहितले भने ।

नेपालको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । नेदरल्यान्ड्स बाहेक अन्य तीन टेस्ट टोली हुन् । नेपालको समूहमा कठिन प्रतिस्पर्धी रहेका छन् ।

‘विश्वकप भनेको सहज होइन । यहाँ कुनै पनि कमजोर टोली आउँदैन । विश्वलाई हाम्रो क्षमता देखाउन सक्ने अवसर पनि यहीँ नै हो । टी-२० क्रिकेट त्यो दिनमा भरपर्छ । दुई वा तीन जना खेलाडी चलेका कुनै पनि टोलीलाई हराउन सकिन्छ । त्यसको उदाहरणहरु धेरै छन् । अब हामी उदारण दिनुपर्छ जस्तो लाग्छ’, रोहितले भने ।