काठमाडौं – अमेरिकी सहर लस एन्जलसमा लुटपाटको क्रममा लुटेराहरुले हलिउड अभिनेता जोनी वेक्टरको गोली हानी हत्या गरेका छन् । लस एन्जलस टाइम्सका अनुसार ‘जनरल हस्पिटल’ फेम्ड अभिनेतामाथि शनिबार गोली प्रहार गरिएको हो ।

गोली लागेलगत्तै नजिकको अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको मृत्यु भयो । रिपोर्टका अनुसार चोरीको प्रयास गर्दा चोरहरुले अभिनेतामाथि गोली हानेका थिए ।

वेक्टरमाथि स्थानीय समयअनुसार शनिबार बिहान ३ बजे हमला भएको थियो । अभिनेताकी आमाका अनुसार चोरले अभिनेताको कारबाट क्याटालिक कन्भर्टर चोर्ने प्रयास गरेका थिए । उनकी आमाका अनुसार अभिनेताले चोरसँग लड्ने प्रयास गरेनन् । बरु चोरले भाग्नुअघि वेक्टरलाई गोली हाने । यसपछि वेक्टरलाई अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार यस घटनामा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । जोनीका एजेन्ट डेभिड शलले उनको मृत्युको खबर पुष्टि गरेका छन् । ‘उनी एक प्रतिभाशाली अभिनेता मात्र होइनन्, उनी आफ्नो काममा प्रतिबद्ध समेत थिए । उनलाई चिन्ने सबैका लागि एक साँचो नैतिक उदाहरण हो,’ डेभिडले भने ।

अभिनेता वेक्टर ‘जनरल हस्पिटल’मा ब्रान्डो कोर्बिनको भूमिकाका लागि सबैभन्दा बढी परिचित थिए । २०० भन्दा बढी एपिसोडमा देखा परेका उनी यो सिरिजमा लागूऔषध दुर्व्यसनी साशा कोर्बिनको पतिको भूमिकामा देखिएका थिए ।