जनकपुरधाम – नागरिकता किर्ते गरेको आरोपमा पक्राउ परेका कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गर्दै छ ।

दोस्रो पटक गत शुक्रबार थप गरिएको तीन दिनको म्याद आज सकिने भएकाले तेस्रो पटक धनुषा जिल्ला अदालतमा पेश गर्न लागिएको हो ।

१० बजेपछि उनलाई म्याद थपको लागि पेश गर्ने तयारी रहेको धनुषाका प्रहरी प्रवक्ताले जानकारी दिए । नागरिकता किर्ते गरेको आरोप धनुषाषाका स्थानिय इन्द्रजित प्रसाद महतोले दिएको जाहेरीको आधारमा सिरोहिया धनुषा प्रहरीको हिरासतमा छन् ।

स्वास्थ्यमा समस्या आयो भनेर उनलाई गत शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीको निगरानीमा उनी अहिले सोही अस्पतालमा छन् ।

प्रहरी प्रवक्ताले अदालतमा पेश गर्नुअघि सिरोहियाको स्वास्थ्य अवस्था सुधार भएको वा नभएको भन्ने विषयमा चिकित्सकसँग बुझ्ने काम भइरहेको बताए । उनका अनुसार स्वास्थ्य अवस्था जटिल भए भिडियो कन्फरेन्स मार्फत जिल्ला सरकारी वकिलको कार्यालयसँग छलफल गरी अदालतमा म्याद थपको लागि सिफारिस गरिने छ ।

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया नागरिकता दुरुपयोगको मुद्दामा मंगलबार पक्राउ परेका हुन् । उनलाई बुधबार बिहान जनकपुर ल्याइएको थियो ।