काठमाडौं – संजयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’बाट अभिनेत्री मनीषा कोइराला यतिबेला चर्चामा छिन् ।

अभिनेत्री कोइराला यतिबेला लन्डनमा छिन् । मंगलबार उनको भेट बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग भएको छ । नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धको १०० औं वर्षगाँठ मनाउन बेलायती प्रधानमन्त्रीको लन्डन कार्यालय टेन डाउनिङ स्ट्रिटमा सुनाकले समारोह आयोजना गरेका थिए ।

जहाँ, नेपाली राजदूत ज्ञानचन्द्र आचार्यदेखि बेलायतस्थित नेपाली डायस्पोराको उपस्थिती थियो । अतिथि बनेर मनीषा पनि टेन डाउनिङ स्ट्रिट पुगेकी थिइन् । प्राप्त तस्वीरमा प्रधानमन्त्री सुनक र मनीषालाई क्याजुअलरुपमा गफगाफ गरेको देख्न सकिन्छ ।

मनीषा स्वयमले इन्स्टाग्रामबाट सुनाकसँगको भेटका तस्वीर र भेटमा भएको गफगाफबारेका कुरा पोस्ट गरेकी छन् । प्रधानमन्त्री सुनकबारे नेपालबारे सुन्न पाउँदा आफूलाई खुसी लागेको उनको भनाई छ ।

अनौपचारिक संवादमा प्रधानमन्त्री सुनाकबाट आफूले सगरमाथा आधार शिविरमा पदयात्राका लागि निम्तो गरेको समेत मनीषाले उल्लेख गरेकी छन् । समारोहमा उपस्थित धेरैजसाले ‘हीरामण्डी’ सिरिज हेरेको र यो थाहा पाएपछि आफू उत्साहित भएको पनि मनीषाले उल्लेख गरेकी छन् ।