कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले किसानलाई एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको छ । उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको नगरपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षको स्वीकृत खाद्यान्न बालीको बीउबिजन उत्पादन कार्यक्रमअन्तर्गत नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई धानको बीउ वितरण गरेको हो । नगरपालिकाका १२ वटै वडाका सहकारी, समूह र कृषि फार्ममार्फत किसानलाई अनुदानमा धानको बीउ वितरण गरिएको नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले बताउनुभयो ।


उहाँकाअनुसार साँवा मन्सुली २० क्विन्टल, सुक्खा तीन २३ क्विन्टल, राधा चार ४२ क्विन्टल र सर्जु बाउन्न ४२ क्विन्टल धानको बीउ किसानलाई वितरण गरिएको हो । वितरण भएको बीउबाट चालिस बिघा खेतमा धान रोप्न पुग्नेछ ।

उन्नत जातको धानको क्षेत्र विस्तार गरी उत्पादन बढाउन हरेक वर्ष माटो सुहाउँदो बीउ अनुदानमा वितरण गर्दै आएको कृषि शाखाका प्रमुख बुढाऐरले बताउनुभयो । रासस