काठमाडौं – जिल्ला प्रशासन कार्यालय धनुषामा रहेको २०३४/३५ को अस्थायी निस्सा अनुसार घासिराम मारवाडी नेपालका अंगीकृत नागरिक हुन्। तर उनकै छोरा कैलाश सिरोहियाले भने बंशजको नागरिकता प्रयोग गरिरहेका छन्।

जनकपुरमा संकलन गरिएको बालिगहरुको अस्थायी निस्साको दर्ता किताबमा ३९६९५९६८ नागरिकता नम्बरमा घासीराम माडवारीलाई अंगीकृत नागरिकता दिइएको उल्लेख छ।

सामान्यतया आफ्नो देशको कानूनको पालना र समर्थन गर्ने वाचा गरी वफादारीको शपथ लिने गैर नागरिकलाई अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिन्छ।अंगीकृत नागरिक स्वयं र उनका पुर्खा विदेशी नागरिक हुन्छन्।

दर्ता किताबमा घासिराम माडवारीको देश भारतको राजस्थान र उमेर ५६ वर्ष लेखिएको छ। उनको पिताको नाम रोशनलाल माडवारी उल्लेख छ।

घासिरामको नागरिकता नम्बर उल्लेख गरिए पनि उनले कहिले नेपाली नागरिकता लिएको हो सो भने उल्लेख छैन। घासिरामको नागरिकता र नागरिकता लिँदाको कागजपत्र समेत प्रहरीले फेला पारेको देखिएन।

कैलाश सिरोहियाले सार्वजनिक गरेको नागरिकतामा नागरिकता ऐन २०२० अनुसार बंशजको नागरिकता लिएको देखिन्छ।

नेपालको नागरिकता ऐन २०२० मा यो’ ऐन प्रारम्भ भएपछि जन्मेको कुनै ब्यक्तीको बाबु निजको जन्महुँदा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ती बंशजको नाताले नेपालको नागरिक हुनेछ’ लेखिएको छ।

‘त्यस्तो व्यक्तीको जन्म नेपाल बाहिर भएको रहेछ भने सो जन्म भएको कुरा निजको जन्म भएको मितिले एक वर्षभित्र तोकिए बमोजिम शाही नेपाली राजदूतावास वा तोकिएको अन्य कुनै अफिसमा रजिष्ट्रेशन गराइएको हुनुपर्ने’ उल्लेख छ।

सो ऐन २०२० चैत १६ गतेबाट लागु भएको देखिन्छ। सो आधारमा ‘यो ऐन प्रारम्भ भएपछि जन्मेको कुनै ब्यक्ती’ अर्थात २०२० चैत १६ पछि जन्मिएको ब्यक्तीको बाबु निजको जन्महुँदा नेपालको नागरिक रहेको अवस्थामा बंशजको आधारमा नेपालको नागरिक हुनेछ।

तर सिरोहियाले नै सार्वजनिक गरेको नागरिकता अनुसार उनको जन्म २०१९ साल अर्थात् नेपालको नागरिकता ऐन २०२० लागु हुनुभन्दा अगाडि भएको पुष्टी हुन्छ।

यो मात्र हैन, २०३४/३५ को अस्थायी निस्सा दर्ता किताबमा घासिराम माडवारीको विवरणमा अंगीकृत उल्लेख गरिएकाले उनी नागरिकता ऐन २०२० लागु भएपछि पनि अंगिकृत नागरिकको हैसियतमा नेपालमा रहेको देखिन्छ।

सोही ऐन अनुसार नेपालको राष्ट्रभाषा लेख्न र बोल्न जान्ने तत्कालीन कानुनले अंगीकृत नागरिकका सन्तानलाई जन्मसिद्ध नागरिकता दिन्छ तर पिताले अंगीकृत नागरिकता लिनुभन्दा अगाडि जन्मिएका सन्तानले भने जन्मसिद्ध नागरिकता पाउँदैनन्। उनीहरुले अंगीकृत नागरिकता नै लिनुपर्छ।

त्यसपछि जन्मिएका सन्तान मात्रै जन्मसिद्ध नेपाली हुनसक्छन्। त्यसअघि जन्मिएका सन्तान अंगीकृत नागरिक नै हुनुपर्ने हो।

उता अनुसन्धानकोक्रममा जिल्ला प्रशासन कार्यालय धनुषामा भेटिएको ‘विदेशी बाबुआमाबाट नेपाल अधिराज्यमा जन्मिएका नागरिकहरुको दर्ता किताब’ मा श्री ५ को सरकार, गृह पञ्चायत मन्त्रालय, नागरिकता टोली.., धनुषा २०३८ को छाप छ।

सो दर्ता किताब पुस्तिकामा जनकपुर नगरपञ्चायत अन्तर्गत फुलगामा क्षेत्रको विवरण रहेको छ। उक्त विवरणमा घासीराम माडवारीका चार सन्तान रहेको उल्लेख छ।

दर्ता किताबमा गोपालप्रसाद सिरोहिया, गोविन्दप्रसाद सिरोहिया, पुनम कुमारी सिरोहिया र कैलासप्रसाद सिरोहियाको विवरण छ। विवरणमा गोपाल, गोविन्द र पुनमको नागरिकता अंगीकृत नेपाली लेखिएको छ भने कैलाशको जन्मसिद्ध नेपाली लेखिएको छ।

अहिले कैलाशका दाजु गोविन्दले प्रयोग गरेको नागरिकतामा जन्मसिद्ध उल्लेख छ। अंगिकृतबाट उनी कसरी जन्मसिद्धमा रुपान्तरण भए खुल्ने थप प्रमाण फेला परेको छैन।

सिरोहियाका पिता घाासिरामको २०६९ साउनमा मृत्यु हुँदा कान्तिपुरमा प्रकाशित समाचार अनुसार उनको तीन छोरा र ६ छोरी रहेको उल्लेख छ।

समाचारमा लेखिएको छ, ‘जेठा गोपाल र कान्छा कैलाश काठमाडौंमा तथा माहिला गोविन्दप्रसाद जनकपुरमै व्यवसाय गर्दै आएका छन्।’

समाचारमा छोरीहरुको संख्या उल्लेख छ तर नाम खुलाइएको छैन। समाचार ६ छोरी लेखिए पनि एक छोरीको विवरणमात्र दर्ता किताबमा भेटिएको छ।

अनुसन्धानमा कैलाशका दुई दाजु गोविन्द र गोपालले जन्मसिद्ध नागरिकको रुपमा पाएको नागरिकता चलाउँदै आएको देखिन्छ। तर कैलाशको भने बंशजको नागरिकता रहेको छ। जन्मसिद्दबाट कसरी वंशजमा गए त्यसको प्रमाण भेटिएको देखिएन।

कैलाश सिरोहियाले एक्स(ट्विटर) सार्वजनिक गरेको नागरिकताको प्रतिलिपीमा २०३६ भदौँ २५ मा नागरिकता लिएको देखिन्छ।

नागरिकताको प्रकारमा नेपालको नागरिकता ऐन २००९ बमोजिम बंशज वा जन्मशिद्ध वा वैवाहिक काटिएको छ।

सो नागरिकताको प्रतिलिपी अनुसार उनले नागरिकता ऐन २०२० बमोजिम बंशजको नाताले नेपालको नागरिकता पाएको देखिन्छ।

उनको दाई गोविन्दले २०३४ साउन २० मा नागरिकता ऐन २००९ अनुसार जन्मसिद्ध नागरिकता लिएको देखिन्छ। स्रोत : उकेरा डटकम