महोत्तरी – महोत्तरीका उखु किसानले चिनी उद्योगबाट आफ्नो उत्पादनको सम्पूर्ण भुक्तानी पाएका छन् । गौशाला नगरपालिका–१ को एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले उखुको भुक्तानी दिएको हो । उखुको मूल्य भने समुचित निर्धारण नभएको भन्दै किसानले गुनासो गरेका छन् ।

भङ्गहा नगरपालिका–४ रामनगरका किसान अरुण गिरीले आफ्नो उत्पादनले कति मूल्य पाउने निधोविना नै उखु तौलिएर उद्योगलाई बुझाउन परेको बताउनुभयो । उखु किसानको प्रतिनिधि संस्था उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहले बर्सेनि चिनीको मूल्य अनुपात र खेती लागतको मूल्याङ्कनलाई मूल्य निर्धारणको आधार बनाइनुपर्ने बताउनुभयो ।

अध्यक्ष कुशवाहका अनुसार किसानले चिनीको बिक्री मूल्य र खेतीको लागत मूल्याङ्कनका आधारमा सात सय रुपैयाँ प्रतिक्विण्टल पाउनुपर्ने माग गरेका थिए तर सरकार र उद्योगबीचको सहमतिपछि छ सय १० रुपैयाँ कायम भएको थियो । उखुको मूल्यबापत उद्योगले पाँच सय ४० दिने र सरकारले अनुदानबापत ७० रुपैयाँ दिने गरेको छ । किसानले उद्योगबाट पाउनुपर्ने सबै भुक्तानी पाए पनि अनुदानबापतको रकम भने पाउन बाँकी छ । रासस