काठमाडौं – अभिनेत्री मनिषा कोइराला नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’को कारण अहिले चर्चामा छिन् । मे १ मा स्ट्रिमिङ हुन लागेको यो सिरिजमा उनी मलिका जान नामक एक शक्तिशाली यौनकर्मीको भूमिकामा छिन् ।

यो सिरिजको चर्चाले मनिषालाई पुनः एकपटक मिडियाका केन्द्रमा ल्याएको छ । हालै एक अन्तर्वार्तामा उनले आफ्नो करिअरको बारेमा कुरा गरेकी छिन् । केही फिल्म रिजेक्ट गरेकोमा आफूलाई पछुतो भएको समेत उनले बताएकी छन् ।

फिल्म निर्माता यश चोपडाले आफूलाई ‘दिल तो पागल है’ फिल्मको अफर गरेको तर उनले अस्वीकार गरेको बताएकी छन् । यश चोपडाले आफू र माधुरी दीक्षितलाई यो फिल्ममा कास्ट गर्न चाहेको तर आफूले अस्वीकार गरेको मनिषाको भनाइ छ ।

मनिषाले भनिन्, ‘मेरो करिअरको सबैभन्दा ठूलो अफसोच यो हो कि मैले यश चोपडाजीसँग कुनै पनि फिल्म गरिन् । ‘दिल तो पागल है’मा माधुरीसँग मेरो भूमिका थियो । म डराएको थिएँ, त्यसैले फिल्मबाट पछि हटें ।’

मनिषाले अस्वीकार गरेपछि करिश्मा कपुरले निशाको भूमिका निर्वाह गरेकी थिइन्, जसले उनको करिअरलाई चम्कायो । यो भूमिकामा उनलाई रुचाइएको थियो । फिल्ममा उनको र माधुरीबीचको ‘डान्स फेस अफ’ दृश्य निकै चर्चित भएको थियो ।

‘दिल तो पागल है’लाई अस्वीकार गरेको केही वर्षपछि मनिषाले माधुरी दीक्षितसँग राजकुमार सन्तोषीको फिल्म ‘लज्जा’मा काम गरिन् ।

मनिषाले माधुरीबारे भनिन्, ‘माधुरीजी एक महान् व्यक्ति र अभिनेत्री हुन् । उनीसँग असुरक्षित हुने प्रश्न नै थिएन । मलाई लाग्छ, जब तपाईंसँग राम्रो कलाकार हुन्छ, तपाईं पनि राम्रो गर्नुहुन्छ । तिनीहरूले तपाईंलाई राम्रो प्रदर्शन गर्न उत्प्रेरित पनि गर्छन् । यो उमेर र अनुभवसँग बुझ्न सकिन्छ । लज्जामा माधुरी र रेखाजीसँग काम गर्न पाउँदा मलाई साँच्चै रमाइलो लाग्यो ।’

‘हीरामण्डी स् द डायमण्ड बजार’ यो वर्षको बहुप्रतीक्षित वेब सिरिजमध्ये एक हो । यो शृंखलाले सन् १९४० को दशकमा ब्रिटिश शासनविरुद्धको भारतीय स्वतन्त्रता आन्दोलनको क्रममा लाहोरको रेडलाइट क्षेत्र हीरामण्डीको जीवनलाई चित्रण गर्नेछ ।